सुरक्षा जोखिमका कारण राष्ट्र बैंकको वेबसाइट र सेवा अस्थायी रूपमा बन्द

काठमाडौं, ६ कात्तिक । नेपाल राष्ट्र बैंकले वेब प्रविधि पीएचपीमा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण आफ्नो वेबसाइटलगायत सेवा अस्थायी रूपमा बन्द गरेको छ।

राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै सुरक्षा जोखिमलाई ध्यानमा राखेर वेबसाइट र अन्य सेवा बन्द गरिएको जनाएको हो।

सेवा बन्द रहेको अवधिमा राष्ट्र बैंकसम्बन्धी अत्यावश्यक सूचना तथा जानकारीका लागि बैंकका आधिकारिक सामाजिक सञ्जालमार्फत जोडिन आग्रह गरिएको छ।

राष्ट्र बैंकले सम्भावित सुरक्षा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण कम्पनीहरूलाई पनि अपिल गरेको छ।

बैंकले सर्भरमा प्रयोग भइरहेका प्रणालीलाई सुरक्षित र सबल बनाउन तथा नियमित सुरक्षा निगरानी बढाउन सम्बन्धित संस्थाहरूलाई आग्रह गरेको छ।

प्रकाशित मिति: ६ कार्तिक २०८३, शुक्रबार  ०९ : २०  बजे