पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौं, ५ कात्तिक । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी हुन बिहीबार चीन प्रस्थान गर्नुभएको छ।

चीनको हपवे प्रदेशस्थित स्योङआनमा अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने सम्मेलनमा उहाँ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुनेछ। ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ मूल विषय रहेको सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ।

सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल र गोलमेच बैठक आयोजना हुनेछन्।

फोरममा संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापनाका लागि आवश्यक सुधार, बहुपक्षीयताको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका तथा अन्तर्राष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’का मुलुकको भूमिकालगायत विषयमा छलफल हुनेछ।

त्यसैगरी जलवायु परिवर्तन, हरित तथा न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसका विषयमा पनि बहस हुने जनाइएको छ।

पूर्वराष्ट्रपति भण्डारी आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: ५ कार्तिक २०८३, बिहिबार  १६ : ३६  बजे