झापा, ५ कात्तिक । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।
बिहीबार बिहान करिब ४:१० बजे विद्युत् सर्ट भएर आगलागी हुँदा क्यान्टिनमा काम गर्ने गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
बिर्तामोड नगरपालिका–४ निवासी रवि राजवंशीले सञ्चालन गरेको बडी ग्यारेज ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा सञ्चालन हुँदै आएको थियो।
आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। दमकल र स्थानीयवासीको सहयोगमा बिहान करिब ४:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र एक लाख रुपैयाँ नगद जलेर नष्ट भएका छन्। प्रारम्भिक विवरणअनुसार क्यान्टिनमा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ।
त्यस्तै, बडी ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टायल्सको गोदाममा समेत सामान्य आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीबाट भएको थप क्षतिको विवरण संकलन भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।












प्रतिक्रिया