काठमाडौं, ५ कात्तिक । बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले आगामी मंगलबारदेखि नेपालका विभिन्न क्षेत्रमा वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद् विनोद पराजुलीका अनुसार विभिन्न मौसम पूर्वानुमान मोडेलको विश्लेषण गर्दा मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म देशका धेरै स्थानमा वर्षा हुन सक्ने संकेत देखिएको छ।
पराजुलीले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत विश्लेषण सार्वजनिक गर्दै दसैँको टीका तथा पारिवारिक भेटघाटका कार्यक्रम बनाउँदा आगामी साताको सम्भावित वर्षालाई समेत ध्यान दिन सुझाव दिनुभएको छ।
यद्यपि, मौसम पूर्वानुमान मोडेलहरूले वर्षा हुने स्थान र परिमाणबारे फरक–फरक संकेत देखाएकाले कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्नेबारे अहिले नै यकिन गर्न कठिन रहेको उहाँले बताउनुभएको छ।
सम्भावित वर्षालाई ध्यानमा राख्दै यात्रा तथा बाहिरी गतिविधिको योजना बनाउन र जल तथा मौसम विज्ञान विभागबाट जारी हुने पछिल्लो पूर्वानुमान तथा सूचनामा ध्यान दिन आवश्यक छ। भारी वर्षा भएमा बाढी, पहिरो र डुबानको जोखिमसमेत बढ्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने देखिन्छ।












प्रतिक्रिया