आज एकादशी, दसैँको टीका लगाउने क्रम जारी

काठमाडौं, ५ कात्तिक । । विजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा छोरीचेलीले आज एकादशीका दिन पनि दसैँको टीका लगाइरहेका छन्।

नेपाली समाजका कतिपय स्थानमा आश्विन शुक्ल एकादशी अर्थात् पापाङ्कुशा एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ।

दसैँको मुख्य दिन घर पुग्न नसकेका छोरीचेली, आफन्त तथा टाढा रहेका परिवारका सदस्य यस अवधिमा टीका थाप्न आउने गर्छन्। त्यसैले विजयादशमी सकिएपछि पनि घरघरमा टीका लगाउने र आफन्तसँग भेटघाट गर्ने क्रम जारी रहने गरेको छ।

धार्मिक मान्यताअनुसार पापाङ्कुशा एकादशीका दिन भगवान् विष्णुको पूजा–आराधना गर्ने, व्रत बस्ने, दान गर्ने तथा भजन–कीर्तन गर्ने चलन छ। यस दिन धार्मिक कार्य र परोपकार गर्दा पुण्य प्राप्त हुने विश्वास गरिन्छ।

दसैँ नेपाली समाजमा धार्मिक आस्था र पारिवारिक मिलनको पर्वका रूपमा मनाइन्छ। विजयादशमीमा टीका लगाउन छुटेका आफन्तले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न सक्ने परम्परा रहँदै आएको छ।

प्रकाशित मिति: ५ कार्तिक २०८३, बिहिबार  ०७ : ४३  बजे