महानवमीमा तलेजु भवानी मन्दिर बिहान ५ बजेदेखि खुल्ने

काठमाडौं,२ कात्तिक । हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानी मन्दिर महानवमीका अवसरमा भोलि मंगलबार बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ।

मन्दिरमा बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म भक्तजनले पूजा, आराधना तथा दर्शन गर्न पाउने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिनुभयो।

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानी मन्दिर प्रत्येक वर्ष महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गर्ने परम्परा छ। यस दिन दर्शनका लागि हजारौँ भक्तजन पुग्ने गर्छन्।

नेपाल पञ्चांग निर्णायक विकास समितिले दिएको साइतअनुसार तुलजा भवानीलाई असोज ३१ गते शनिबार बिहान ७ बजेर ३७ मिनेटमा हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो। सोही दिन बिहान १० बजेर ३९ मिनेटमा स्थिरासन गराइएको थियो।

महाअष्टमीको राति मूलचोकमा कालरात्रि पूजा गरिँदै छ। हेरचाह अड्डाका अनुसार पूजाका क्रममा ५४ बोका र ५४ राँगाको बलि दिइनेछ। विजयादशमीसम्म मूलचोकमै राखेर तलेजु भवानीको पूजा आराधना गरिनेछ।

कात्तिक ४ गते बुधबार विजयादशमीका दिन बिहान १० बजेर ५१ मिनेटमा तुलजा भवानीको यात्रा गराइने र ११ बजेर ५२ मिनेटमा मूल मन्दिरमा स्थिरासन गराइने समितिले जनाएको छ।

प्रकाशित मिति: २ कार्तिक २०८३, सोमबार  १९ : ३९  बजे