६ दिनमै आरुघाटमा बेलिब्रिज तयार, यातायात सुचारु

गोरखा,२ कात्तिक । बूढीगण्डकी नदीको बाढीले बगाएको गोरखा र धादिङ जोड्ने आरुघाटको पुलमा ६ दिनमै बेलिब्रिज जडान गरिएको छ। बेलिब्रिज तयार भएसँगै अवरुद्ध यातायात सेवा सुचारु भएको छ।

गत असोज २५ गते आएको बाढीले पुलको गोरखातर्फको भाग बगाएपछि आरुघाट बजार र पृथ्वीराजमार्गबीचको आवागमन अवरुद्ध भएको थियो। पुल नहुँदा दसैँका बेला उत्तरी गोरखाका बासिन्दाको आवतजावत प्रभावित भएको थियो।

गोरखा सडक योजना कार्यालय र नेपाली सेनाले संयुक्त रूपमा पुल मर्मत तथा बेलिब्रिज जडानको काम गरेका हुन्। सडक योजना कार्यालयले पुलको दुवैतर्फको जिप तयार गरेको थियो भने नेपाली सेनाले डेक सेटिङको काम गरेको थियो।

गोरखा सडक योजना कार्यालयका प्रमुख विनोद पुनका अनुसार बगेको भागमा तत्काल सवारी सञ्चालनका लागि २२ मिटर लम्बाइ र चार मिटर चौडाइको बेलिब्रिज जडान गरिएको हो। रातदिन काम गरेर सोमबार दिउँसो ३ बजे काम सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो।

उङ्गिलुङमा पहिरोले बूढीगण्डकीको सहायक खोला थुनिएपछि एक्कासि आएको बाढीले पुलको गोरखातर्फको भाग बगाएको थियो। २०७० सालमा निर्माण भएको उक्त पुलले उत्तरी गोरखाका आरुघाट, धार्चे र चुमनुब्री गाउँपालिकालाई पृथ्वीराजमार्गसँग जोड्दै आएको छ।

प्रकाशित मिति: २ कार्तिक २०८३, सोमबार  १९ : ३३  बजे