काठमाडौं, १६ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दुवै वायुको प्रभावका कारण अहिले देशभर आंशिक बदली रहेको छ भने बागमती प्रदेशको तराईका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागसँगै देशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदलीसँगै बिहानीपख हुस्सु लाग्न सक्नेछ।
राति कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।











प्रतिक्रिया