ठूला चाडपर्वपछि आन्दोलन हुन सक्ने सुरक्षा विश्लेषण, सरकारलाई ब्रिफिङ

काठमाडौं,१४असोज । ठूला चाडपर्व सकिएपछि काठमाडौं केन्द्रित आन्दोलन हुन सक्ने भन्दै सुरक्षा निकायले सरकारलाई ब्रिफिङ गरेका छन्।

सुरक्षा निकायले पछिल्लो समय सरकार र राजनीतिक दलप्रति असन्तुष्टिका स्वर बढ्दै गएको विश्लेषण गरेको छ। प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरूले आन्दोलनको सम्भावनाबारे गृह मन्त्रालयलाई जानकारी गराएको स्रोतलाई उद्धृत गर्दै रातोपाटीले जनाएको छ।

यसअघि भदौ २७ गते सिरहाको औरही गाउँपालिकामा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा विवाद भएको थियो। कार्यक्रमका क्रममा होहल्ला भएपछि उहाँ सुरक्षाकर्मीको सहयोगमा कार्यक्रमस्थलबाट बाहिरिनुभएको थियो। घटनाको कारणबारे भने विभिन्न पक्षले फरक–फरक दाबी गरेका छन्।

सुरक्षा विश्लेषणअनुसार दसैँ, तिहार र छठपछि आन्दोलनको गतिविधि बढ्न सक्ने आकलन गरिएको छ। अहिले चाडपर्व र खेतीपातीको समय भएकाले तत्काल ठूलो आन्दोलनको सम्भावना कम रहेको तर त्यसपछि काठमाडौं केन्द्रित प्रदर्शन हुन सक्ने एक उच्च सुरक्षा अधिकारीले बताएका छन्।

राष्ट्रिय अनुसन्धान विभागले पनि कात्तिकपछि आन्दोलन हुन सक्ने सम्भावनासहितको लिखित रिपोर्ट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको दाबी गरिएको छ। सम्भावित राजनीतिक तथा सुरक्षा घटनाको विश्लेषणसहितको रिपोर्ट प्रधानमन्त्री, गृहमन्त्री, मुख्यसचिव, गृहसचिव, राष्ट्रिय सुरक्षा परिषद् र नेपाली सेनाको डीजीएमआईलगायत निकायमा पठाइएको स्रोतको भनाइ छ।

यसबीच विभिन्न राजनीतिक दलका नेताहरूले पनि चाडपर्वपछि सरकारविरुद्ध आन्दोलनको चेतावनी दिँदै आएका छन्। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसैँ–तिहारलगत्तै सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिनुभएको छ।

त्यस्तै, नेकपा एमालेको नेतृत्वले पनि प्रतिनिधिसभा पुनर्स्थापनासहितका विषयमा आन्दोलनको तयारीबारे धारणा सार्वजनिक गरेको छ। एमाले उपाध्यक्ष गोकर्ण विष्टले भने प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने कदमलाई आत्मघाती हुने धारणा राख्नुभएको छ।

सुरक्षा निकायले सम्भावित आन्दोलनसँगै हिंसा, घृणा फैलाउने गतिविधि, जातीय सद्भावमा खलल तथा भूमिगत वा विखण्डनकारी समूहका गतिविधिमाथि निगरानी बढाएको जनाएको छ। २०८४ सालमा हुने स्थानीय निर्वाचनअघि विभिन्न राजनीतिक शक्तिले जनअसन्तुष्टिलाई सरकारविरोधी गतिविधिमा प्रयोग गर्न सक्ने सम्भावनासमेत सुरक्षा विश्लेषणमा समेटिएको बताइएको छ।

प्रकाशित मिति: १४ आश्विन २०८३, बुधबार  १५ : ०१  बजे