प्रतिनिधिसभा बैठक आज : चार विधेयक समितिमा पठाउने, एउटा पारित गर्ने तयारी

काठमाडौं, १४ असोज । संघीय संसद्को प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने र एउटा विधेयक पारित गर्ने सम्भावित कार्यसूची छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। उक्त विधेयकसम्बन्धी समितिको प्रतिवेदन यसअघि प्रतिनिधिसभामा पेस भइसकेको संसद्को अभिलेखमा उल्लेख छ।

यसैबीच, आज संघीय संसद्का चार संसदीय समितिको बैठक पनि बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ।

प्रकाशित मिति: १४ आश्विन २०८३, बुधबार  १० : ४१  बजे