रातारात टेकु लगिएका चोलेन्द्रलाई कडा सुरक्षासहित घरमै पुर्‍याइयो

काठमाडौं, ११ असोज । सुरक्षा थ्रेट भन्दै शनिबार राति २ बजे अपराध अनुसन्धान कार्यालय, टेकु लगिनुभएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले कडा सुरक्षासहित महाराजगन्जस्थित निजी निवास पुर्‍याएको छ ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई आफैं महाराजगन्जस्थित घरसम्म पुर्‍याउनुभएको हो । अब जबरालाई निवासमै थप सुरक्षासहित राखिने भएको छ ।

एसएसपी खड्काले जबरालाई उहाँले भनेकै स्थानमा पठाइएको बताउनुभएको छ । सुरक्षाका कारण उक्त स्थान खुलाउन नमिल्ने बताइए पनि पछि जबरालाई महाराजगन्जस्थित निजी निवासमै पुर्‍याइएको हो ।

जबराको सुरक्षाका लागि उहाँको निवासमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रहरीले उहाँलाई घरमै निगरानीसहित राखिने जनाएको छ ।

अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जबरालाई परिवारको जिम्मा लगाइएको बताउनुभएको छ ।

यसअघि जबरालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली टेकु पुगेको थियो । आयोग सदस्य मनोज दुवाडीसहित तीन सदस्यीय टोली करिब ४५ मिनेट गेटमै कुर्दा पनि प्रवेश नपाएपछि जबरालाई नभेटी फर्किएको थियो ।

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार  १४ : ५८  बजे