काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारप्रति आम नागरिकमा निराशा, आक्रोश र हतास मनोदशा देखिएको बताउनुभएको छ।
आइतबार कांग्रेस केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले नयाँ सरकारबाट धेरै अपेक्षा गरेका नागरिकले अपेक्षाअनुसार काम नभएको भन्दै आक्रोश व्यक्त गरिरहेको बताउनुभएको हो।
उहाँले नागरिकसँगको भेटघाटका क्रममा आफूले निराशा र हतास मनोदशा पाएको बताउनुभयो। नयाँ नेतृत्वबाट परिवर्तन हुने अपेक्षासहित मतदान गरेका नागरिकले अहिले ‘केही हुन सकेन’ भन्दै असन्तुष्टि जनाइरहेको उहाँको भनाइ छ।
‘तपाईंहरूले नागरिक भेट्दा के पाउनुभयो ? यहाँ खुलेर छलफल गरौँ। मैले चाहिँ जनतामा निराशा र हतासा भएको पाउँछु। हतासको मनोदशा भएको पाउँछु,’ थापाले भन्नुभयो।
उहाँले नयाँ सरकारबाट ठूलो अपेक्षा राखेर मतदान गरेका नागरिकमा अहिले आक्रोश बढेको बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले मध्यरातमा सामाजिक सञ्जालमा लेखेको स्टाटसले पनि जनतामा देखिएको अवस्थालाई स्वीकार गरेको थापाको टिप्पणी छ।
सरकारप्रति जनतामा देखिएको निराशामा कांग्रेस खुसी हुने अवस्था नरहेको उहाँले स्पष्ट पार्नुभयो। राष्ट्रिय शक्तिका रूपमा कांग्रेसले सरकारप्रति बढ्दो जनआक्रोशलाई गम्भीरतापूर्वक लिनुपर्ने उहाँको भनाइ छ।
‘रास्वपा सरकारप्रति जनतामा देखिएको निराशामा कांग्रेस खुसी हुने कि चिन्ता व्यक्त गर्ने ? राष्ट्रिय शक्तिको हैसियतमा कांग्रेस यसमा चिन्ता व्यक्त गर्छ,’ थापाले भन्नुभयो।












प्रतिक्रिया