काठमाडौँ, २४ साउन । अविरल वर्षा, पहिरो तथा सडक कटानका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुपाल्चोक, इलाम, रसुवा, तेह्रथुम र रुकुम पश्चिमका विभिन्न सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बाढीको जोखिमलाई ध्यानमा राख्दै बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।
त्यस्तै, कान्ति लोकपथमा पनि वर्षाका कारण बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
इलामको राजदुवालीस्थित मेची राजमार्ग हिलाम्मे भएपछि यातायात ठप्प भएको छ । सिन्धुपाल्चोकको जिरोकिलो, कोदारी, लिपिङ र डुम्रेमा पहिरो तथा सडक भासिएका कारण अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ ।
रसुवाको उत्तरगयास्थित खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक, रुकुम पश्चिमको रिजेगार्ड खोलामा भेरी करिडोर तथा तेह्रथुमको काडेनजिकै मध्यपहाडी लोकमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् ।
बाढी तथा पहिरोको जोखिम अझै कायम रहेकाले यात्रामा निस्कनुअघि सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।







प्रतिक्रिया