उपेन्द्र यादव : राज्यका शक्ति एकै ठाउँमा केन्द्रित हुँदा सर्वसत्तावाद मौलायो

काठमाडौं, साउन २३ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राज्यका शक्ति एकै ठाउँमा केन्द्रित हुँदा मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद मौलाएको आरोप लगाउनुभएको छ।

काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष यादवले संवैधानिक निकाय र मन्त्रालयहरू स्वतन्त्र रूपमा काम गर्न नसक्ने अवस्थामा पुगेको दाबी गर्नुभएको हो।

संघीयता, समावेशिता, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताजस्ता उपलब्धिमाथि राज्यबाटै प्रहार भइरहेको उहाँको आरोप छ। प्राप्त उपलब्धिको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिका लागि ‘अग्रगामी मोर्चा’ गठन गरिएको उहाँले बताउनुभयो।

अध्यक्ष यादवले संविधान संशोधनमार्फत विभेद र असमानता अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले मुलुक संविधानको मर्मअनुसार नभई संविधानभन्दा बाहिरबाट सञ्चालन भइरहेको दाबी गर्नुभयो।

सुशासनको अभाव, भ्रष्टाचार, कमजोर शान्ति–सुरक्षा तथा बढ्दो वैदेशिक ऋणका कारण मुलुकको अर्थतन्त्र थप संकटमा पर्दै गएको उहाँको भनाइ छ।

प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार  १७ : १२  बजे