कपिलवस्तुका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन, मोटरसाइकल जंगलमा भेटियो

रूपन्देही, २३ साउन। कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएका छन्।

सिंह चढ्ने मोटरसाइकल गोरुसिङ्गे जंगलमा भेटिए पनि उहाँको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ।

शुक्रबार रातिसम्म प्रहरी, स्थानीयवासी र आफन्तले विभिन्न क्षेत्रमा खोजी गरे पनि सिंह भेटिनुभएको छैन। राति करिब १ः३० बजेसम्म खोजी गर्दा पनि फेला नपरेपछि शनिबार बिहानदेखि गोरुसिङ्गे जंगल क्षेत्रमा पुनः खोजी सुरु गरिएको हो।

इलाका प्रहरी कार्यालय गोरुसिङ्गेसहितको प्रहरी टोलीले बिहानदेखि खोजी कार्य जारी राखेको जनाएको छ।

प्रहरी, स्थानीयवासी र आफन्तसहितको ठूलो टोलीले ढेकहरी आसपासका विभिन्न क्षेत्रमा समेत रातभर खोजी गरेको थियो।

पूर्वमेयर सिंहले ढेकहरीमा व्यावसायिक फार्म सञ्चालन गर्ने तयारी गरिरहनुभएको र त्यस क्रममा यसअघि पनि पटक–पटक उक्त क्षेत्रमा जाने गरेको बताइएको छ।

प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार  ०८ : २१  बजे