मल किन्न जाँदा भारतमा पक्राउ परेका दुई नेपाली किसान ३८ दिनपछि रिहा

काठमाडौं, २२ साउन। मल किन्न भारत गएका क्रममा पक्राउ परेका सर्लाहीका दुई नेपाली किसान ३८ दिनपछि थुनामुक्त भएका छन्।

सर्लाहीको बलरा नगरपालिका–५ का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह भारतको अदालतको आदेशअनुसार शुक्रबार धरौटीमा रिहा भएका हुन्।

सुरेशप्रसादका छोरा अविनाश सिंहका अनुसार दुवै जना शुक्रबार साँझ रिहा भएका छन्। उहाँहरूलाई लिन परिवारका सदस्य भारतको डुमरवा पुगेका थिए।

यसअघि भारतको सीतामढीस्थित डुम्रा व्यवहार अदालतका सह–विशेष न्यायाधीश अखलेशकुमार झाको इजलासले बुधबार दुवै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

सुरेशप्रसाद र नागेन्द्रप्रसाद १७ असारमा भारतको सीतामढी जिल्लास्थित सोनबर्षाबाट डिएपी र युरिया मल लिएर फर्किने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्वारा पक्राउ परेका थिए। त्यसपछि १८ असारमा उनीहरूलाई जेल चलान गरिएको थियो।

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार  २१ : २०  बजे