दोलखाको यलुङ रि आधार शिविरमा पाँच शव फेला

दोलखा, २२ साउन। दोलखाको रोल्वालिङ हिमश्रृंखलाअन्तर्गत यलुङ रि हिमालको आधार शिविरमा पाँच जनाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार आधार शिविरमा देखिएका शव गत वर्ष कात्तिक १७ गते यलुङ रि आरोहणका क्रममा हिमपहिरोमा बेपत्ता भएकाहरूको हुन सक्ने आशंका गरिएको छ।

गत वर्षको हिमपहिरोमा पाँच विदेशी र दुई नेपाली गरी सात जना परेका थिए। घटनालगत्तै दुई नेपालीको शव फेला परेको थियो भने पाँच विदेशी पर्वतारोही बेपत्ता भएका थिए।

हिउँ पग्लिएपछि बिहीबार स्थानीयले आधार शिविरमा शव देखेर प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि शुक्रबार हेलिकोप्टरमार्फत प्रहरी टोली घटनास्थल पुगे पनि प्रतिकूल मौसमका कारण शव ल्याउन नसकी फर्किएको प्रहरीले जनाएको छ।

गत वर्षको हिमपहिरोमा सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ का नेपाली पथप्रदर्शक मेरे कार्की र दोलखाको गौरीशंकर गाउँपालिका–९ का पदम तामाङको मृत्यु भएको थियो। साथै इटलीका दुई, क्यानडाका एक, फ्रान्सका एक र जर्मनीका एक पर्वतारोही बेपत्ता भएका थिए।

प्रहरीका अनुसार आधार शिविरमा फेला परेका शव बेपत्ता भएका ती पर्वतारोहीकै हुन् वा होइनन् भन्ने विषय पहिचान प्रक्रिया पूरा भएपछि मात्र पुष्टि हुनेछ। मौसम अनुकूल हुनेबित्तिकै सबै शव उद्धार गरिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार  १८ : ४५  बजे