सामुदायिक वनमा बोराभित्र महिलाको शव फेला

हेटौंडा, २२ साउन। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड नजिकको सामुदायिक वनमा बोराभित्र राखिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार दिउँसो करिब २ बजे स्थानीयवासी च्याउ टिप्न वनमा जाँदा खाल्डोमा फालिएको सेतो बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा डग तथा अनुसन्धान टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले बोरा खोलेर हेर्दा हालसम्म पहिचान नखुलेकी करिब ३० देखि ३२ वर्ष उमेरकी जस्तो देखिने महिलाको शव फेला परेको जनाएको छ।

घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार  १८ : ३३  बजे