सिन्धुपाल्चोक, २२ साउन। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा पहिरो जाँदा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) का विभिन्न संरचनामा क्षति पुगेको छ।
प्राप्त जानकारीअनुसार बिहान करिब १ः१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेको थियो। पहिरोसँगै झरेका ढुङ्गा आपसमा ठोक्किँदा उछिट्टिएर बीओपी परिसरभित्र पुगेका थिए।
घटनामा कुनै मानवीय क्षति नभए पनि प्रहरीका भवन तथा अन्य संरचनामा भौतिक क्षति पुगेको छ।
पहिरोका कारण पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ भने दोस्रो लाइन ब्यारेकको भित्तामा प्वाल पर्नुका साथै जस्ताको छानोमा छ वटा प्वाल परेको छ। एउटा ड्युटी पोस्ट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने अर्को ड्युटी पोस्टमा आंशिक क्षति पुगेको छ।
यस्तै, सशस्त्र प्रहरी निरीक्षकको बाथरुमको भित्तामा प्वाल परेको, हिमाली ज्याकेटमा ढुङ्गा लागेर क्षति पुगेको, राष्ट्रिय झण्डा राखिएको पोल पूर्ण रूपमा भत्किएको तथा जिन्सी स्टोर भवन र मुख्य प्रवेशद्वारअगाडिको सिँढीमा समेत क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ।
घटनापछि सुरक्षा अवस्थाको मूल्याङ्कन तथा क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।







प्रतिक्रिया