काठमाडौं, २२ साउन। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ।
हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। मधेश प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली छ। बागमती र कर्णाली प्रदेशका केही तथा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने र तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।
राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षा तथा हिमाली क्षेत्रमा वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
महाशाखाले वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी सूचना नियमित रूपमा अद्यावधिक गर्दै सावधानी अपनाउन अनुरोध गरेको छ।







प्रतिक्रिया