सर्लाही,२२ साउन । लखन्देही खोलाको बाँध भत्किएपछि आएको बाढीले सर्लाहीको मलङ्गवा नगरपालिका र कौडेना गाउँपालिकाका करिब १ हजार ५ सय बिघा धानबाली डुबानमा परेको छ।
गत सोमबार राति आएको बाढीले कौडेना गाउँपालिका–५ छपकैयामा बाँध भत्काएपछि बाढी बस्ती र खेतमा पसेको हो। बाढीका कारण कौडेना–५ छपकैयामा ८०० बिघा, मलङ्गवा–६ खुटौनामा ५०० बिघा र मलङ्गवा–५ भाडसरमा ३०० बिघा धानखेती डुबानमा परेको स्थानीयले बताएका छन्।
डुबानका कारण केही घर, गोठ तथा सडकसमेत प्रभावित भएका छन्। चार दिनदेखि खेतमा पानी जमिरहेकाले भर्खरै रोपिएको धानबाली नष्ट हुन थालेपछि किसान चिन्तित बनेका छन्। पुनः रोपाइँ गर्न आवश्यक बीउ र ब्याडसमेत नभएकाले समस्या झन् गम्भीर बनेको उनीहरूको गुनासो छ।
स्थानीयका अनुसार लखन्देही खोलामा पर्याप्त अध्ययनबिनै बाँध निर्माण गरिएकाले हरेक वर्ष बाँध भत्किने, खोलाले धार परिवर्तन गर्ने र पानी निकास नहुँदा डुबान तथा कटानको समस्या दोहोरिने गरेको छ।
मलङ्गवा–६ का वडाध्यक्ष रामकैलाश यादवले यसै वर्ष १८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको तटबन्धसमेत बाढीले क्षति पुर्याएको जानकारी दिनुभयो। कौडेना गाउँपालिकाका अध्यक्ष रुपेशकुमार (बब्लु)ले समस्या दीर्घकालीन रूपमा समाधान गर्न ठूलो बजेटसहित व्यवस्थित तटबन्ध निर्माण आवश्यक रहेको बताउनुभयो।
उता, बाँध फुटेको क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले अस्थायी तटबन्ध निर्माणको प्रयास गरे पनि सफल हुन सकेको छैन। सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले बाँस तथा अन्य सामग्री प्रयोग गरेर बाढीको भंगालो रोक्ने प्रयास भइरहेको बताउनुभयो।
यसैबीच, सर्लाही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य रविन महतोले प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा दीर्घकालीन समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।







प्रतिक्रिया