संसद्मा माफी माग्दै गृहमन्त्री गुरुङले भन्नुभयो– ‘मबाट रूखो बोली भयो’

काठमाडौं, २१ साउन । सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन अस्वीकार गरेको भन्दै आलोचना भएपछि गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा माफी माग्नुभएको छ।

विपद् व्यवस्थापन सम्बन्धी प्रस्तावमाथिको छलफलको जवाफ दिने क्रममा उहाँले निर्मला पन्त हत्या प्रकरण अनुसन्धानकै चरणमा रहेकाले त्यसबारे सदनमा टिप्पणी नगरेको स्पष्ट पार्दै आफूबाट रूखो बोली भएको स्वीकार गर्नुभयो।

गृहमन्त्री गुरुङले अनुसन्धान जारी रहेको विषयमा बोल्नु उपयुक्त नठानेको बताउँदै प्रश्नको जवाफ दिन नखोजेको नभई अनुसन्धान प्रक्रियालाई असर नपरोस् भन्ने उद्देश्य रहेको उल्लेख गर्नुभयो। साथै, आफ्नो अभिव्यक्तिले असहज अवस्था सिर्जना भएको भए क्षमा चाहनुभयो।

यसअघि नेकपा सांसद गरिमा शाहले संसद्मा गृहमन्त्रीले प्रयोग गर्नुभएको भाषा र शैलीप्रति आपत्ति जनाउँदै सरकार सदनप्रति जवाफदेही हुनुपर्ने बताउनुभएको थियो। नेपाली कांग्रेसकी सांसद कमला पन्तले पनि गृहमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै संसद्मा उठाइएका प्रश्नको जिम्मेवार ढंगले जवाफ दिन सरकारको दायित्व भएको बताउनुभएको थियो।

प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार  १८ : २८  बजे