काठमाडौं, २१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नीतिमा भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल को सेवा, पूर्वाधार र सुरक्षाकर्मीको व्यवहारप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
बिहीवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै सांसद भण्डारीले विमानस्थलमा आफन्त लिन वा पुर्याउन जाने सर्वसाधारणबाट शुल्क असुल्ने व्यवस्था अव्यावहारिक रहेको बताउनुभयो। विकसित मुलुकमा शुल्क तिरेर सुविधासम्पन्न लाउन्ज प्रयोग गर्ने व्यवस्था भए पनि नेपालमा न्यूनतम पूर्वाधारसमेत नहुँदा शुल्क उठाउनु उपयुक्त नभएको उहाँको भनाइ थियो।
उहाँले विमानस्थलमा कार्यरत निजी सुरक्षा गार्डहरूको व्यवहारप्रति पनि असन्तुष्टि जनाउँदै सर्वसाधारणसँग सम्मानजनक र मर्यादित व्यवहार गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो।
बैठकमा रास्वपाकै सांसद जगदीश खरेलले पनि विमानस्थलको सुरक्षा व्यवस्था र सेवा शुल्कमा भइरहेको मनोमानीप्रति आपत्ति जनाउँदै सुधारको आवश्यकता औँल्याउनुभयो।
उहाँले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) को सुरक्षा सम्बन्धी प्रतिवेदनलाई बेवास्ता गरिएको उल्लेख गर्दै त्यसको तत्काल अध्ययन गरी आवश्यक सुधारका कदम चाल्न सरकारसँग माग गर्नुभयो। सांसद खरेलले विमानस्थलको सुरक्षा व्यवस्थामा देखिएका कमजोरीले मुलुकको अन्तर्राष्ट्रिय छविमा समेत असर पार्न सक्ने भन्दै सुरक्षा मापदण्डको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो।
सांसदहरूले सेवा प्रवाह, पूर्वाधार व्यवस्थापन र सुरक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायले तत्काल आवश्यक कदम चाल्नुपर्ने धारणा राख्नुभएको छ।







प्रतिक्रिया