काठमाडौं, २१ साउन । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार धेरै स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडक एकतर्फी सञ्चालनमा रहेका छन्।
पूर्ण रूपमा अवरुद्ध हुने सडकमा चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्ग, सिन्धुपाल्चोकको चारकिलो, कोदारी र लिपिङ क्षेत्रको अरनिको राजमार्ग, ललितपुरको पाण्डुर र मकवानपुरको ठिंगन खण्डको कान्ति लोकपथ, इलामको राजदुवाली क्षेत्रको मेची राजमार्ग, पूर्वी रुकुमको भुमे गाउँपालिकास्थित मध्य पहाडी लोकमार्ग, बागलुङ र पाल्पाको कालीगण्डकी कोरिडोर, र रुकुम पश्चिम, मुगु तथा जुम्लाका विभिन्न कर्णाली क्षेत्रका सडकहरू रहेका छन्।
यस्तै, काभ्रेको वि.पी. राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै राति ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
यसैबीच काठमाडौंको सितापाइला–धार्के सडक, मनाङको चामे–बेँसिशहर सडक, मुस्ताङको बेनी–जोमसोम सडक तथा भोजपुरको बोखिम क्षेत्रस्थित मध्य पहाडी लोकमार्गमा पहिरो पन्छाएपछि एकतर्फी सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, रसुवाको त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी सडक र दोलखाको लामासाँघु–रामेछाप सडक पनि बाढीका कारण अवरुद्ध छन्। दोलखामा भने वैकल्पिक मार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
नेपाल प्रहरीले लगातारको वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले लामो दूरीको यात्रा गर्नुअघि सम्बन्धित प्रहरी कार्यालय वा आधिकारिक ट्राफिक सूचना हेरेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।







प्रतिक्रिया