सरकारको दिनगन्ती सुरु भइसकेको छ : विप्लव

काठमाडौं,२१ साउन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान सरकारको दिनगन्ती सुरु भइसकेको बताउनुभएको छ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव चन्दले सरकारको कार्यशैलीप्रति जनस्तरमा असन्तुष्टि बढ्दै गएकाले सरकारको आयु छोटिन सक्ने दाबी गर्नुभयो।

उहाँले कतिपयले दसैं–तिहारअघि नै सरकार परिवर्तन हुन सक्ने अड्कलबाजी गरिरहेको उल्लेख गर्दै त्यसको यथार्थ आगामी दिनले स्पष्ट पार्ने भए पनि सरकारप्रति जनमानसको असन्तुष्टि बढ्दो क्रममा रहेको बताउनुभयो।

महासचिव चन्दले परिवर्तनका पक्षधर तथा प्रगतिशील शक्तिहरू पनि वर्तमान अवस्थाप्रति निराश रहेको उल्लेख गर्दै जनताले ठूलो धोका महसुस गरिरहेको धारणा राख्नुभयो। प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारप्रति जनतामा रहेको अपेक्षा पनि क्रमशः कमजोर बन्दै गएको उहाँको भनाइ थियो।

देशको आर्थिक अवस्था कमजोर बन्दै गएको उल्लेख गर्दै उहाँले विदेशी ऋणको भार बढेको, उत्पादनमा कमी आएको तथा सुकुम्वासी, मिटरब्याज पीडित र लघुवित्त पीडितका समस्या समाधानमा सरकार गम्भीर नदेखिएको आरोप लगाउनुभयो।

यी समस्या यथाशीघ्र समाधान नभए नयाँ आन्दोलनको तयारी गरिने चेतावनी पनि उहाँले दिनुभयो।

कम्युनिस्ट पार्टीहरूबीचको एकता र सहकार्यका विषयमा बोल्दै महासचिव चन्दले परम्परागत रूपमा पार्टी फुटाउने वा थप्ने प्रवृत्तिले निकास नदिने बताउँदै नयाँ ढंगबाट सहकार्य र एकताको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो।

प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार  ०८ : ४९  बजे