मर्दी हिमाल पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन, खोजी कार्य तीव्र

काठमाडौं, २० साउन । मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीका तीन युवक सम्पर्कविहीन भएका छन्। उनीहरू बाटो बिराएर जंगलमा अलपत्र परेको आशंकामा प्रहरीले खोजी कार्य तीव्र पारेको छ।

सम्पर्कविहीन हुनेमा पोखरा महानगरपालिका–१४ निवासी अजित जिसी, युकेश गुरुङदीपेश गुरुङ रहेका छन्।

प्रहरीका अनुसार माछापुच्छ्रे गाउँपालिका–९ बादलडाँडा नजिकको जंगल क्षेत्रमा उनीहरू हराएको सूचना प्राप्त भएपछि बिहानैदेखि खोजी अभियान सञ्चालन गरिएको छ।

माछापुच्छ्रे गाउँपालिका–६ भेँडाबारीस्थित अस्थायी प्रहरी पोस्टका प्रहरी हवल्दार जीवन बरालका अनुसार तीनै जनाको मोबाइल फोन बन्द रहेको छ।

प्रहरीले मर्दी हिमालको हाई क्याम्पबाट फर्कने क्रममा उनीहरू बाटो बिराएर जंगलमा अलपत्र परेको हुन सक्ने प्रारम्भिक अनुमान गर्दै खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ।

प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार  २० : ३१  बजे