गुल्मीमा दुई स्थानबाट बेवारिसे भरुवा बन्दुक बरामद, अनुसन्धान सुरु

गुल्मी,२० साउन — गुल्मी जिल्लाका दुई फरक स्थानबाट बेवारिसे अवस्थामा भरुवा बन्दुक तथा त्यससँग सम्बन्धित सामग्री बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

मंगलबार साँझ करिब ७:४५ बजे रेसुङ्गा नगरपालिका–२ धागिथुमस्थित सेतो गुराँस नजिक सार्वजनिक स्थानमा बेवारिसे बन्दुक रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक सुदीप नेपालीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। खोजतलासका क्रममा बनमाराको झाडीभित्र सेतो प्लास्टिकको बोरामा राखिएको एक थान बेसाबुत भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ।

उक्त बन्दुक कानुनी प्रक्रिया पूरा गरी बरामद गरिएको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

यसैगरी मंगलबार दिउँसो रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारस्थित मुसीडाँडा क्षेत्रमा नियमित गस्तीका क्रममा प्रहरी चौकी रुरुबाट खटिएको टोलीले एक थान साबुत भरुवा बन्दुक, करिब १५० ग्राम बारुद, १२ थान छर्रा तथा १२ थान क्याप बेवारिसे अवस्थामा फेला पारेको थियो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र वीर विश्वकर्माका अनुसार बरामद सामग्री सुरक्षित रूपमा प्रहरी नियन्त्रणमा राखिएको छ।

प्रहरीले दुवै घटनाबीच कुनै सम्बन्ध रहे–नरहेको, बन्दुकको स्रोत, प्रयोग तथा कसले बेवारिसे अवस्थामा छाडेको भन्ने विषयमा अनुसन्धान तीव्र बनाएको जनाएको छ।

प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार  ०८ : ०६  बजे