अविरल वर्षाले देशभर सडक सञ्जाल प्रभावित, तीन प्रमुख राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौं, २० साउन । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ।

नेपाल प्रहरीका अनुसार सिन्धुपाल्चोकको अरनिको राजमार्ग, मुस्ताङको बेनी–जोमसोम सडकरुकुम पश्चिमको भेरी कोरिडोर पूर्ण रूपमा अवरुद्ध छन्। सिन्धुपाल्चोकको चारकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग ठप्प भएको हो भने मुस्ताङको थासाङमा पहिरोका कारण बेनी–जोमसोम सडक बन्द भएको छ।

त्यसैगरी रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक र दोलखाको लामासाँघु–रामेछाप सडकखण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गकान्ति लोकपथमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। बीपी राजमार्गको खुर्कोट–नेपालथोक खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म तथा कान्ति लोकपथको हेटौँडा–ठिङ्गन खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ।

यस्तै, काठमाडौंको सितापाइला–धार्के सडक, भोजपुरको मध्यपहाडी लोकमार्ग, बागलुङको कालीगण्डकी करिडोर र मनाङको चामे–बेँसीसहर सडकमा पहिरो पन्छाएपछि एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको छ।

प्रहरीले वर्षायाममा यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार  ०७ : ५९  बजे