तराई घटनाबारे सरकारको स्पष्टिकरण– कुनै ठोस सहमति भएको छैन

काठमाडौं, १९ साउन । सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा गृहमन्त्रीसँग कुनै विशेष वा ठोस सहमति नभएको स्पष्ट पारेको छ।

मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गृहमन्त्री सुधन गुरुङले प्रभावित क्षेत्रका विभिन्न सरोकारवालासँग भेटघाट गरी वस्तुस्थितिबारे जानकारी लिएको र समस्या समाधानका लागि संवाद गर्न सरकार तयार रहेको सन्देश मात्र दिएको बताउनुभयो।

मन्त्री पोखरेलका अनुसार मधेस भ्रमणका क्रममा गृहमन्त्रीले आन्दोलनरत पक्ष र अन्य सरोकारवालासँग छलफल गर्नुभएको भए पनि कुनै विशेष विषयमा सरकारका तर्फबाट औपचारिक सहमति भएको छैन।

उहाँले कुनै निश्चित बुँदामा आधारित सहमतिभन्दा पनि उठेका विषयमा आवश्यक परे थप छलफल गर्न सकिने धारणा व्यक्त गरिएको स्पष्ट पार्नुभयो। कुनै विशेष सहमतिबारे विस्तृत जानकारी आवश्यक परे गृहमन्त्री स्वयंले सार्वजनिक गर्ने उहाँको भनाइ छ।

मन्त्री पोखरेलले घटनाको छानबिन समितिको प्रतिवेदन सरकारसमक्ष आएपछि त्यसका सुझावका आधारमा निष्पक्ष रूपमा आवश्यक निर्णय र कारबाही अघि बढाइने पनि बताउनुभयो।

सरकारले हालका लागि आन्दोलनरत पक्षका माग र शान्ति–सुरक्षाको अवस्थाबारे संवादको ढोका खुला राखिएको तर कुनै ठोस सहमति नभएको जनाएको छ।

प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार  २१ : ३६  बजे