लिपुलेक हुँदै भारत–चीन सीमा व्यापार पुनः सुरु, नेपालले विषयलाई गम्भीर रूपमा लिएको प्रतिक्रिया

काठमाडौं, १९ साउन । भारत र चीनले नेपाली दाबी रहेको लिपुलेक नाका हुँदै परम्परागत सीमा व्यापार पुनः सुरु गरेका छन्। कोभिड–१९ महामारीका कारण २०२० देखि बन्द रहेको व्यापार उत्तराखण्डको लिपुलेक र हिमाचल प्रदेशको शिप्की–ला नाकाबाट पुनः सञ्चालनमा आएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतीय पक्षका अनुसार लिपुलेक नाकाबाट पहिलो चरणमा १६ जना व्यापारी र चार जना सहयोगी तिब्बत प्रवेश गरेका छन्। शिप्की–ला नाकाबाट पनि पहिलो समूहका व्यापारी व्यापारका लागि तिब्बततर्फ गएका छन्।

लिपुलेक क्षेत्रलाई नेपालले आफ्नो अभिन्न भूभाग दाबी गर्दै आएको छ। यसअघि भारत र चीनले नेपालको सहमति वा सहभागिताबिना व्यापार पुनः सञ्चालन गर्ने निर्णय गरेपछि नेपाल सरकारले असहमति जनाएको थियो।

परराष्ट्र मन्त्रालयले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग सम्बन्धित कुनै पनि निर्णय वा गतिविधि नेपाललाई समावेश नगरी गर्नु स्वीकार्य नहुने स्पष्ट पार्दै आएको छ। नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी आफ्नो भूभाग भएको दाबी दोहोर्‍याउँदै आएको छ।

व्यापार पुनः सञ्चालनबारे नेपाल सरकारको औपचारिक धारणा सार्वजनिक नभए पनि परराष्ट्र मन्त्रालयका एक अधिकारीले विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताउनुभएको छ। उहाँका अनुसार नेपालले कूटनीतिक माध्यमबाट आफ्नो धारणा सम्बन्धित पक्षसमक्ष राख्नेछ।

भारत र चीनबीच लिपुलेक हुँदै सीमा व्यापार सन् १९९२ देखि सञ्चालन हुँदै आएको थियो। कोभिड–१९ महामारीपछि बन्द भएको व्यापार करिब छ वर्षपछि पुनः सञ्चालनमा आएको हो।

प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार  २१ : ०४  बजे