प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेट, सुरक्षा अवस्था र समसामयिक विषयमा छलफल

काठमाडौं, १९ साउन । प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन शाह र प्रधानसेनापति अशोकराज सिग्देलबीच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। भेटमा मुलुकको समसामयिक सुरक्षा अवस्था, नेपाली सेनाको गतिविधि तथा नियमित सुरक्षा ब्रिफिङका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

पछिल्ला दिनमा सुनसरीको कप्तानगञ्ज र सिरहामा भएका साम्प्रदायिक तनाव तथा त्यसपछि विकसित सुरक्षा अवस्थाबारे पनि छलफल भएको स्रोतले जनाएको छ। ती घटनापछि शान्ति सुरक्षा कायम गर्न नेपाली सेना समेत परिचालन गरिएको थियो।

यसैबीच, काठमाडौंको गोकर्णेश्वरस्थित सैनिक ब्यारेकको पर्खाल डोजर प्रयोग गरी भत्काइएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उक्त विषय पनि चर्चामा आएको छ। भिडियोमा नेपाली सेनाका एक अधिकृतले ब्यारेक क्षेत्र भएकाले आवश्यक प्रक्रिया पूरा गरेर मात्रै काम अघि बढाउन आग्रह गरेको देखिन्छ भने डोजर सञ्चालन रोक्न अस्वीकार गरिएको सुनिन्छ।

यद्यपि, प्रधानमन्त्री र प्रधानसेनापतिबीचको भेटलाई उक्त घटनासँग जोडेर विभिन्न अड्कलबाजी भए पनि नेपाली सेनाले यसलाई नियमित भेटघाट र सुरक्षा ब्रिफिङको क्रम भएको स्पष्ट पारेको छ।

सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले प्रधानमन्त्री रक्षामन्त्रीको जिम्मेवारीमा समेत रहेकाले प्रधानसेनापतिसँग नियमित रूपमा सुरक्षा अवस्थाबारे छलफल हुने गरेको बताउनुभयो।

गोकर्णेश्वरस्थित सैनिक ब्यारेकको पर्खाल भत्काइएको घटनाबारे भने सेनाले सम्बन्धित निकायसँग आवश्यक जानकारी लिने र घटनाको वास्तविकता बुझ्ने काम भइरहेको जनाएको छ। सेनाका अनुसार घटनाबारे तथ्य संकलनपछि आवश्यक प्रक्रिया अघि बढाइनेछ।

प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार  १३ : ४७  बजे