म्याग्दीमा भैँसीसहित खोला तर्ने क्रममा एक जना बेपत्ता

काठमाडौं, १९ साउन । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार रघुगङ्गा गाउँपालिका–८ चौरखानीका ३५ वर्षीय भीमबहादुर घर्ती भैँसीसहित खोला तर्ने क्रममा सोमबार बगेर बेपत्ता भएका हुन्।

स्थानीयवासीले घटना भएको जानकारी दिएपछि सोमबार साँझदेखि नै प्रहरी र स्थानीयवासीले खोजी अभियान सञ्चालन गरेका थिए। तर, रातिसम्म पनि उनको अवस्था पत्ता लाग्न सकेन।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिना का अनुसार मंगलबार बिहानदेखि पुनः खोजी कार्यलाई तीव्र बनाइएको छ।

प्रहरीले स्थानीयवासीको सहयोगमा बेपत्ता घर्तीको खोजी जारी राखेको जनाएको छ।

प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार  ०९ : ०७  बजे