कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, १९ साउन । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपात र पहाडी भेगका धेरै तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, भूक्षय र गेग्रान बहावको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचनामा नियमित ध्यान दिन अनुरोध गरेको छ।

प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार  ०७ : २८  बजे