बालेन सरकारको परराष्ट्र नीतिमाथि ज्ञवालीको टिप्पणी, ‘दुई छिमेकीसँग विश्वासको दूरी बढ्यो’

काठमाडौं, १८ साउन । नेकपा (एमाले)का उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकारले अवलम्बन गरेको परराष्ट्र नीतिप्रति असन्तुष्टि जनाउँदै नेपालले भारत र चीन दुवै छिमेकीसँग विश्वासको सम्बन्ध सुदृढ बनाउन नसकेको टिप्पणी गर्नुभएको छ।

सोमबार राजधानीमा परराष्ट्र मामिला हेर्ने पत्रकारहरूसँगको अन्तरक्रियामा उहाँले वर्तमान सरकारको कूटनीतिक अभ्यासले नेपालका लागि अवसरसँगै चुनौती पनि बढाएको बताउनुभयो।

पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले नेपाललाई ‘बफर स्टेट’का रूपमा व्याख्या गर्ने सरकारी दृष्टिकोणप्रति असहमति जनाउँदै नेपालको परम्परागत परराष्ट्र नीतिको मूल धाराबाट विचलन हुन नहुने धारणा राख्नुभयो।

उहाँका अनुसार छिमेकी मुलुकसँग मतभेद हुन सक्ने भए पनि निरन्तर संवाद र साझेदारीलाई कमजोर बनाउन नहुने हो। भारत र चीन दुवैसँग सन्तुलित, विश्वासपूर्ण र सक्रिय सम्बन्ध कायम गर्नु नै नेपालको राष्ट्रिय हित हुने उहाँको भनाइ थियो।

ज्ञवालीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले कूटनीतिक प्रोटोकलको पालना गरेको पक्षलाई सकारात्मक रूपमा उल्लेख गर्नुभयो। तर, सीमासम्बन्धी केही सार्वजनिक अभिव्यक्तिले वार्तामा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै त्यसप्रति सचेत हुनुपर्ने सुझाव दिनुभयो।

उहाँले सरकारले परराष्ट्र नीति र कूटनीतिक विषयमा प्रमुख राजनीतिक दलहरूसँग पर्याप्त संवाद नगरेको आरोप पनि लगाउनुभयो। राष्ट्रिय हितसँग जोडिएका विषयमा सरकार र प्रतिपक्षबीच नियमित छलफल आवश्यक रहेको उहाँको भनाइ थियो।

राजदूत नियुक्तिको प्रक्रियाबारे टिप्पणी गर्दै ज्ञवालीले खुला आवेदन प्रणालीभन्दा योग्य र सक्षम व्यक्तिको छनोटलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। राजदूत नियुक्तिमा प्रचारमुखी अभ्यासभन्दा दक्षता र अनुभवलाई महत्व दिनुपर्ने उहाँको भनाइ थियो।

साथै, पछिल्लो समय अमेरिकाको नेपालप्रतिको सुरक्षा चासो बढेको देखिएको उल्लेख गर्दै उहाँले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा नेपालले सन्तुलित र परिपक्व कूटनीतिक नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

ज्ञवालीले देशको आन्तरिक एकता पनि संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै राष्ट्रिय हितका विषयमा सबै राजनीतिक शक्तिबीच सहकार्य र साझा समझदारी आवश्यक रहेको बताउनुभयो।

प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार  २० : ३८  बजे