कीर्तिपुरको होल्डिङ सेन्टर पुगेका जेन–जी अगुवा माजिद अन्सारी र सरिष्मा थापा प्रहरी नियन्त्रणमा

काठमाडौं, २७ असार । कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा पुगेका जेन–जी आन्दोलनका अगुवा माजिद अन्सारी, सरिष्मा थापालगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

डुबान प्रभावित सुकुम्बासीको अवस्था बुझ्न पुगेका उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरको टोलीले नियन्त्रणमा लिएको हो। घटनास्थलमा अन्सारीलाई प्रहरीले लछारपछार गर्दै नियन्त्रणमा लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

प्रत्यक्षदर्शीका अनुसार पक्राउका क्रममा अन्सारीले प्रहरीसँग पक्राउ पुर्जी देखाउन माग गरेका थिए। तर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी भ्यानमा राखेको थियो। घटनास्थलमा केही प्रहरी अधिकारीले “विद्यार्थीले राजनीति गर्न हुँदैन” भन्ने अभिव्यक्ति दिएको आरोपसमेत लगाइएको छ।

नेपाल जेन–जी मुभमेन्ट अलायन्सका अमित खनालले घटनाप्रति आपत्ति जनाउँदै सरकारले नागरिकको आवाज दबाउन राज्य शक्तिको दुरुपयोग गरेको आरोप लगाए। उनले शान्तिपूर्ण रूपमा अनुगमन गर्न पुगेका व्यक्तिमाथि बल प्रयोग गरिएको दाबी गर्दै यसलाई लोकतान्त्रिक मूल्य–मान्यता र मानवअधिकारमाथिको प्रत्यक्ष आक्रमण भने।

खनालले जनताको सुरक्षाका लागि खटिएको सुरक्षा निकाय नै नागरिकमाथि दमनमा उत्रिएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन र नियन्त्रणमा लिइएकाहरूलाई तत्काल रिहा गर्न माग गरेका छन्।

प्रहरीले भने नियन्त्रणको कारणबारे औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।

प्रकाशित मिति: २७ असार २०८३, शनिबार  १९ : ३६  बजे