काठमाडौं, २७ असार । लगातारको वर्षासँगै बागमती नदीमा पानीको बहाव बढेपछि कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर डुबानमा परेको छ। डुबानपछि सुरक्षाकर्मीले शुक्रबार राति उद्धार अभियान सञ्चालन गर्दै ५४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार राति १:३८ बजे डुबानको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बलको दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक (डीएसपी)को नेतृत्वमा ३० सदस्यीय विपद् व्यवस्थापन टोली परिचालन गरिएको थियो। उद्धार कार्यमा नेपाल प्रहरीका थप ३० जना सुरक्षाकर्मी पनि खटिएका थिए।
संयुक्त सुरक्षा टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार ६ जना आफन्तको घर तथा नजिकैको होस्टलमा गएका छन् भने बाँकी ९४ जना अन्यत्र जान नमानेपछि पानी नपसेको सुरक्षित स्थानमै बसिरहेका छन्। उनीहरू सुरक्षाकर्मी र सम्बन्धित निकायको निगरानीमा रहेको जनाइएको छ।
बागमती नदीमा पानीको बहाव अझै बढिरहेकाले नदी किनार र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।







प्रतिक्रिया