रास्वपाको नयाँ निर्देशन : संसद्मा बोल्नुअघि एक दिनअघि नै भाषणको सामग्री बुझाउनुपर्ने

काठमाडौं, २४ असार। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई प्रतिनिधिसभाको शून्य समय र विशेष समयमा उठाउने विषयवस्तु एक दिनअघि नै पार्टीका सचेतकलाई पठाउन निर्देशन दिएको छ। पार्टीको यो व्यवस्थापछि सांसदहरूको अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठेको छ भने सामाजिक सञ्जालमा पनि बहस सुरु भएको छ।

रास्वपाका सचेतकद्वय क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारले सांसदहरूलाई पठाएको सर्कुलरमा शून्य समय तथा विशेष समयमा प्रस्तुत गर्ने भाषण वा नोट्स अनिवार्य रूपमा एक दिनअघि उपलब्ध गराउन अनुरोध गरिएको छ। साथै, प्रतिनिधिसभामा उपस्थित हुँदा सांस्कृतिक पोसाकबाहेक अन्य पोसाक लगाउने सांसदले अनिवार्य रूपमा कोट र पार्टीको लोगो लगाउनुपर्ने उल्लेख गरिएको छ।

यस व्यवस्थाप्रति केही सांसदले असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार अब संसद्मा बोल्नुअघि अनुमति लिनुपर्ने अवस्था सिर्जना भएको र अभिव्यक्तिमा अप्रत्यक्ष रूपमा नियन्त्रण गर्न खोजिएको सन्देश गएको छ।

यद्यपि रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले भने सांसदको वाक् स्वतन्त्रता सीमित गर्ने उद्देश्य नभएको स्पष्ट पारेका छन्। उनका अनुसार संसद्मा उठाइने विषय अझ व्यवस्थित, तथ्यपरक र परिणाममुखी बनाउने उद्देश्यले मात्रै पूर्वतयारीका लागि सामग्री मागिएको हो, पूर्वस्वीकृति अनिवार्य गरिएको होइन।

यो सर्कुलर सोमबार केही रास्वपा सांसदहरूले प्रतिनिधिसभा र सामाजिक सञ्जालमार्फत सरकारको कार्यशैलीप्रति सार्वजनिक असन्तुष्टि व्यक्त गरेपछि जारी गरिएको हो। पार्टीले यसअघि सांसदहरूलाई संसदीय आचरण र प्रस्तुतिबारे प्रशिक्षणसमेत दिएको थियो।

नेपालको संविधानको धारा १०३ ले संघीय संसद्का दुवै सदनका सदस्यलाई पूर्ण वाक् स्वतन्त्रताको प्रत्याभूति दिएको छ। यस्तो अवस्थामा संसद्मा बोल्नुअघि पार्टीलाई सामग्री बुझाउनुपर्ने व्यवस्थाले संसदीय अभ्यास र सांसदको स्वतन्त्र अभिव्यक्तिबारे नयाँ बहस जन्माएको छ।

प्रकाशित मिति: २४ असार २०८३, बुधबार  ०९ : ४३  बजे