काठमाडौं, १८ असार । विशेष अदालत काठमाडौंले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि अनुसन्धान गर्न थप ६ दिनको म्याद दिएको छ।
न्यायाधीश हेमन्त रावल,डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासबाट म्याद थप भएको हो। सम्पत्ति शुद्धीकरण कसूरमा पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए। पौडेल हाल सानेपास्थित प्रहरी हिरासतमा छन्। यसअघि दिएको म्याद सकिएपछि आज विशेष अदालतले अनुसन्धान गर्न प्रहरीलाई थप म्याद दिएको हो।
सोमबार तीन दिन र यसअघि अदालतले सात दिनको म्याद दिएको थियो। श्रीराम टोबाको प्रालिको २० प्रतिशत सेयर हिमालयन एसेट म्यानेजमेन्ट प्रालिले खरिद गरेको विषयमा भइरहेको अनुसन्धानका क्रममा पौडेल पक्राउ पर्नुभएको थियो । उक्त कम्पनीमा इन्फिनिटी होल्डिङ्सको शतप्रतिशत लगानी रहेको छ।
यसअघि व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गर्दा विभागले हिमालयन एसेट म्यानेजमेन्टको कारोबारमाथि पनि प्रश्न उठाएको थियो। कम्पनीको वास्तविक स्वामित्व, लगानीको स्रोत तथा कारोबारबारे अनुसन्धान जारी रहेको जनाइएको छ।
अनुसन्धानका क्रममा व्यवसायी कमलकिशोर मालपानी र चुन्नप्रसाद शर्माले बयान दिँदै पूर्वअर्थमन्त्री पौडेलकै दबाबका कारण आफूहरूले श्रीराम टोबाकोको सेयर व्यवसायी दीपक भट्टलाई कम मूल्यमा बिक्री गर्नुपरेको दाबी दिनुभएको थियो । सोही बयानपछि पौडेल अनुसन्धानको दायरामा आउनुभएको थियो । पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ जारी छ।







प्रतिक्रिया