काठमाडौं, १८ असार । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ पर्नुभएको छ। जिल्ला अदालत कञ्चनपुरको फैसला कार्यान्वयनका क्रममा बिहीबार बिहान भीमदत्त नगरपालिका–१८ कटानबाट उहाँलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले अदालतको आदेश कार्यान्वयनका लागि भण्डारीलाई नियन्त्रणमा लिइएको पुष्टि गर्नुभयो।
निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित विषयमा गाली बेइज्जती गरेको ठहर गर्दै कञ्चनपुर जिल्ला अदालतले २०८२ जेठ १ गते उहाँलाई दोषी ठहर गरेको थियो।
न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले पत्रकार भण्डारीलाई एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना तथा एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको थियो।
निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफ्नो नाम जोडेर समाचार प्रकाशन गरिएको भन्दै तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख (हाल अवकाशप्राप्त एसएसपी) दिल्लीराज बिष्टका छोरा तथा राष्ट्रिय समाचार समितिका पत्रकार किरण बिष्टले उहाँविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गर्नुभएको थियो।
वि.सं. २०७५ साउन १० गते साथीको घरमा पढ्न जान्छु भनेर घरबाट निस्किनुभएकी १३ वर्षीया निर्मला पन्त भोलिपल्ट भीमदत्त नगरपालिका–स्थित निम्बुखेडा खोलानजिकको उखुबारीमा मृत अवस्थामा फेला पर्नुभएको थियो। बहुचर्चित उक्त घटनाका वास्तविक दोषी अझै पहिचान हुन सकेका छैनन्।







प्रतिक्रिया