थमन विक हत्या प्रकरण : अभिराम शर्मासहित चार जनाको जन्मकैद बदर, पाँच वर्ष कैद सजाय

काठमाडौं, १७ असार । मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले सुनाएको जन्मकैदको फैसला उच्च अदालत जनकपुरले आंशिक रूपमा उल्टाएको छ।

उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले निलम्बित मधेश प्रदेशसभा सदस्य अभिराम शर्मासहित चार जनाको जन्मकैद सजाय बदर गर्दै जनही पाँच वर्ष कैद सजाय सुनाएको हो।

फैसलाअनुसार प्रदीप साह माइती, सञ्जयकुमार साहमोहन ठाकुरको हकमा भने जिल्ला अदालतले सुनाएको जन्मकैदको फैसला यथावत् कायम राखिएको छ। अदालतले अनुसन्धानका क्रममा प्राप्त बयान, घटनास्थलका प्रमाण र प्रत्यक्ष संलग्नताको आधारमा उनीहरूको हत्या घटनामा मुख्य भूमिका पुष्टि भएको ठहर गरेको छ।

यता, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्रसुरेश पाण्डेको हकमा हत्या गरेको प्रत्यक्ष प्रमाण नपुगेको निष्कर्ष निकाल्दै अदालतले हत्या गर्न सहयोग तथा सघाउ पुर्‍याएको ठहर गरेको छ। सोही आधारमा मुलुकी अपराध संहिताअन्तर्गत जनही पाँच वर्ष कैद सजाय तोकिएको हो।

महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो। उक्त फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले प्रमाणको पुनर्मूल्याङ्कनपछि फरक फैसला गरेको हो।

जिल्ला अदालतबाट जन्मकैदको फैसला भएपछि फरार रहेका अभिराम शर्मा हालसम्म पक्राउ परेका छैनन्। जिल्ला अदालतको फैसलापछि मधेश प्रदेशसभाले उहाँलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिसकेको छ।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार  २१ : १४  बजे