कैदीबन्दीबाट रकम असुली गरेको आरोपमा अभिषेक गिरी पक्राउ

काठमाडौं, १३ असार । मोरङ जिल्ला कारागारका कैदीबन्दीमाथि लामो समयदेखि आर्थिक शोषण र रकम असुली गरेको आरोपमा नेपाली कांग्रेसका नेता एवं कारागारका पूर्वचौकीदार अभिषेक गिरी पक्राउ परेका छन् ।

गिरी पक्राउ परेसँगै उनीमाथि कडा कारबाहीको माग गर्दै मोरङ कारागारभित्रका कैदीबन्दीले शनिबार विरोध प्रदर्शन र नाराबाजी गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष टोलीले गिरीलाई शनिबार बिहान विराटनगर–८, मधुमारास्थित उनकै निवासबाट नियन्त्रणमा लिएको हो ।

गिरीले कारागारमा चौकीदार रहँदादेखि नै कैदीबन्दीलाई डर, त्रास र धाकधम्की देखाएर अनुचित प्रभावमा पारी ठुलो परिमाणमा रकम असुली गर्ने गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । गिरी पक्राउ परेपछि कारागारभित्रको अवस्था अहिलेपनि तनावपूर्ण छ ।

गिरीसँगको मिलेमतोको आशङ्कामा प्रहरीले वर्तमान चौकीदार राकेश यादवलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय लगेको थियो । यादवलाई बाहिर निकालेसँगै कैदीबन्दीले नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरूले मुख्य आरोपी गिरीमाथि कडा कारबाही हुनुपर्ने र यादवलाई अन्यत्र सरुवा गर्न नपाइने माग राख्दै कारागारभित्रै प्रदर्शन गरेका थिए । कैदीबन्दीको चर्को विरोधपछि प्रहरीले यादवलाई पुनः कारागारमै फर्काएर बयान लिन सुरु गरेको छ ।

प्रहरी निरीक्षक अभिषेक श्रेष्ठको नेतृत्वमा गएको टोलीले गिरीको घरमा खानतलासी गर्दा केही शङ्कास्पद तमसुकहरू समेत बरामद गरेको छ । अनुसन्धानका क्रममा गिरीले कैदीबन्दीलाई कारागार पर्नु अगावैको मिति राखेर तमसुक बनाउन लगाउने र पछि सोही आधारमा पैसा असुल्ने गरेको खुलेको छ ।

विशेषगरी, गिरीले सरकारले कैदीबन्दीलाई उपलब्ध गराउने दैनिक सिदा र वार्षिक पाँच हजार रुपियाँ कपडा भत्तामा कमिसन लिने गरेको प्रहरीको आरोप छ ।

हाल मोरङ कारागारमा रहेका एक हजार १९९ कैदीबन्दीले पाउने दैनिक भत्ता र उनीहरूले कारागारभित्र मुढा तथा गलैँचा बुनेर गरेको कमाइ समेत गिरीले जबरजस्ती असुल्ने गरेको कैदीबन्दीको गुनासो छ ।

पाँच सय जनाले मुढा र एक सय जनाले गलैँचा बुन्ने काम गर्छन्, यसबाट हुने आम्दानी गिरीले आफ्ना सहयोगीका नाममा रहेका बैँक खातामा पठाउन लगाउने गरेका थिए ।

मोरङका प्रहरी नायब उपरीक्षक ९डिएसपी० महेन्द्रकुमार मिश्रले कैदीबन्दीलाई अनुचित प्रभावमा पारेर अवैध रकम असुली गर्ने गरेको पर्याप्त सूचना र प्रमाणका आधारमा गिरीलाई नियन्त्रणमा लिइएको पुष्टि गर्नुभयो ।

पक्राउ परेपछि गिरीले मुटु दुखेको बहाना बनाउँदै अस्पताल जान प्रहरीलाई दबाब दिएका छन् । यद्यपि, प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ ।

पीडित कैदीबन्दीले भने वर्षौंदेखिको शोषण अन्त्य हुनुपर्ने र दोषीमाथि हदैसम्मको कानुनी कारबाही हुनुपर्ने अडान राखेका छन् ।

प्रकाशित मिति: १३ असार २०८३, शनिबार  १७ : २८  बजे