रास्वपा महाधिवेशन : पदाधिकारीको निर्वाचनअघि नै फर्किन थाले प्रतिनिधिहरू

काठमाडौं, ११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी प्रतिनिधिहरू पदाधिकारीको निर्वाचन नपर्खी धमाधम घर फर्किन थालेका छन् ।

केन्द्रीय सदस्य पदका लागि मतदान गरेलगत्तै प्रतिनिधिहरू फर्किन थालेका हुन् । मंगलबारसम्मका लागि तय गरिएको महाधिवेशनको अवधि थप दुई दिन लम्बिएपछि प्रतिनिधिहरू घर फर्कन थालेका हुन् ।

बुधबार मध्यरातिदेखि ९९ जना केन्द्रीय सदस्यका लागि मतदान जारी रहेको छ । बिहीबार दिउँसोसम्म पनि केन्द्रीय सदस्यतर्फको मतदान जारी रहने देखिएको छ ।

पार्टी विधानअनुसार सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएपछि मात्र पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान हुने व्यवस्था छ । तर दोस्रो चरणको निर्वाचनको प्रतीक्षा नगरी प्रतिनिधिहरू फर्किन थालेका छन् ।

गण्डकी प्रदेशबाट सहभागी एक प्रतिनिधिले अनलाइनखबरसँग भन्नुभयो, ‘पदाधिकारीको चुनाव जे–सुकै होस्, म फर्किन लागेँ ।’

मंगलबारबाट महाधिवेशनको अवधि लम्बिएसँगै प्रतिनिधिहरू फर्किन थालेका थिए । भूगोलतर्फ केन्द्रीय सदस्य पदका एक उम्मेदवारका अनुसार ५० प्रतिशतभन्दा बढी प्रतिनिधिले चितवन छाडिसकेका छन् ।

निर्वाचन आयोगले प्रतिनिधिहरूको यकिन तथ्याङ्क सार्वजनिक गरेको छैन । आयोगका अनुसार महाधिवेशनमा करिब ४ हजार १ सय प्रतिनिधि सहभागी रहेका छन् ।

निर्वाचन आयोगले पदाधिकारी चयनका लागि हुने मतदानको कार्यतालिका हालसम्म सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति: ११ असार २०८३, बिहिबार  ११ : ४६  बजे