पूर्वी नेपालमा भारी वर्षा, पश्चिम र तराईका भूभागमा अझै सुक्खा

काठमाडौं, असार । पूर्वी नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेका बेला पश्चिम नेपाल तथा तराईका अधिकांश भूभागमा अझै सुक्खा अवस्था कायम रहने मौसमविद्हरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका केही क्षेत्रमा वर्षा भए पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो हावाको लहर चल्ने तथा तापक्रम उच्च रहने सम्भावना रहेको छ।

विभागले कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहने जनाएको छ। कोसी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसमविद् विनोद पोखरेलका अनुसार पूर्वी नेपालमा गएरातिदेखि वर्षा सक्रिय बनेको छ। झापाको अनारमनी–बिर्तामा पछिल्लो सात घण्टामा २३७ मिलिमिटर वर्षा मापन भएको छ, जुन अत्यधिक वर्षाको श्रेणीमा पर्दछ। उनका अनुसार आगामी एक सातासम्म पूर्वी तराईबाहेक पश्चिमी तथा दक्षिणी नेपालका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना न्यून रहने देखिएको छ।

जलवायुविज्ञ धर्मराज उप्रेतीले बंगालको खाडीबाट विकसित भएको बादल पूर्वी नेपालमा प्रवेश गरिसकेको बताए। उनका अनुसार पूर्वी क्षेत्रमा वर्षासँगै बाढी र पहिरोको जोखिम बढेको छ भने पश्चिम नेपालमा भने घाम लाग्ने क्रम जारी रहने सम्भावना छ।

यसैबीच, अत्यधिक गर्मीका कारण तराईका केही क्षेत्रमा जनजीवन प्रभावित हुन थालेको छ। विभागको तथ्यांकअनुसार बिहीबार देशकै सबैभन्दा उच्च तापक्रम भैरहवामा ४१.४ डिग्री सेल्सियस र नेपालगञ्जमा ४०.७ डिग्री सेल्सियस मापन गरिएको थियो।

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ। मौसमविद्हरूले पूर्वी क्षेत्रमा बाढी–पहिरोको जोखिमप्रति सतर्क रहन र पश्चिम तथा तराई क्षेत्रमा अत्यधिक गर्मीबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार  ०७ : २९  बजे