निर्मला पन्त हत्या प्रकरणमा सूक्ष्म अनुसन्धान भइरहेको छ : गृहमन्त्री गुरुङ

काठमाडौं, असार । गृहमन्त्री सुधन गुरुङ ले निर्मला पन्त हत्या प्रकरणमा सरकारले सूक्ष्म र गम्भीर अनुसन्धान गरिरहेको बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा गृह मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले उक्त प्रकरणलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको स्पष्ट गर्नुभयो।

गृहमन्त्री गुरुङका अनुसार अनुसन्धानका कतिपय प्रक्रिया संवेदनशील भएकाले गोप्य रूपमा अघि बढाउनुपर्ने बाध्यता रहेको छ। नतिजा नआएसम्म सबै विवरण सार्वजनिक गर्नु उपयुक्त नहुने पनि उहाँले बताउनुभयो।

उहाँले एउटी बालिकाको निर्मम हत्याजस्तो संवेदनशील विषयलाई लिएर राजनीति हुनु दुःखद् भएको टिप्पणी गर्नुभयो।

“निर्मला पन्त को विषयमा मन्त्रालय संवेदनशील छ। दोषीको पहिचान गरी कानुनी दायरामा ल्याउन सूक्ष्म अनुसन्धान अघि बढाइएको छ,” उहाँले भन्नुभयो।

गृहमन्त्री गुरुङले दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउँदै अनुसन्धान निष्कर्षमा पुर्‍याउन सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो।

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार  २० : ०४  बजे