सुकुम्वासी बस्ती हटाउने क्रममा सेना खटाइएको छैन : सरकारको स्पष्टोक्ति

काठमाडौं, असार ४ । सरकारले सुकुम्वासी बस्ती हटाउने क्रममा नेपाली सेनालाई खटाइएको भन्ने आरोपको खण्डन गरेको छ।

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयसम्बन्धी छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री स्वर्णिम वाग्ले ले सुकुम्वासी बस्ती हटाउने कार्यमा नेपाली सेनाको प्रयोग नभएको स्पष्ट गर्नुभएको हो।

प्रधानमन्त्री बालेन्द्र शाह का तर्फबाट जवाफ दिँदै अर्थमन्त्री वाग्लेले जोखिमयुक्त क्षेत्रमा रहेका सुकुम्वासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय गरेर आवश्यक सुरक्षा र सहजीकरण गरेको बताउनुभयो।

उहाँले सेनालाई बस्ती हटाउने कार्यमा परिचालन गरिएको भन्ने दाबी सत्य नभएको उल्लेख गर्दै उक्त कार्यमा कुनै पनि स्थानमा नेपाली सेनाको संलग्नता नरहेको स्पष्ट गर्नुभयो।

साथै, राष्ट्रिय सुरक्षा नीति र सरकारको निर्देशनअनुसार मुलुकको भौगोलिक अखण्डता तथा सीमाको सुरक्षाका लागि आवश्यकताअनुसार सुरक्षा निकायहरूको उपस्थिति हुने भए पनि सुकुम्वासी व्यवस्थापनमा सेनाको प्रयोग नगरिएको उहाँको भनाइ थियो।

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार  १९ : ५७  बजे