काठमाडौं, ३ असार । व्यापारी रामहरि श्रेष्ठ को अपहरण तथा हत्या प्रकरणमा दोषी ठहर भएका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य गोविन्दबहादुर बटाला ले बुधबार सर्वोच्च अदालतमा आत्मसमर्पण गर्नुभएको छ।
सर्वोच्च अदालतको फैसलाअनुसार १० वर्ष कैद सजाय तोकिएपछि बटाला अदालतमा उपस्थित हुनुभएको हो। अदालतमा हाजिर भएपछि सर्वोच्च अदालत प्रशासनको मुद्दा तथा रिट महाशाखाले उहाँलाई डिल्लीबजार कारागार चलान गरेको छ।
गत जेठ २८ गते सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापा को इजलासले पुनरावलोकन सुनुवाइ गर्दै यसअघिको फैसला उल्ट्याएर बटालालाई १० वर्ष कैद सजाय सुनाएको थियो।
कालिकोटको माल्कोट स्थायी घर भई काठमाडौंमा बसोबास गर्दै आएका बटालाले कानुनी व्यवस्थाअनुसार तोकिएको अवधिभित्र आत्मसमर्पण गरेकाले जरिवानामा २० प्रतिशतसम्म छुट पाउने सम्भावना रहेको अदालत स्रोतले जनाएको छ।
बटाला २०६८ असार ६ गते काठमाडौंबाट अपहरण गरिएका व्यवसायी रामहरि श्रेष्ठलाई चितवन लगेर हत्या गरेको अभियोगमा दोषी ठहर भएका हुन्। उनी तत्कालीन माओवादी लडाकुका ब्रिगेड कमान्डरसमेत रहेका थिए।







प्रतिक्रिया