‘रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?’ : कांग्रेस सांसद यादव

काठमाडौं, असार । नेपाली कांग्रेसले प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्याल को भूमिकाप्रति प्रश्न उठाएको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद माननीय चन्द्रमोहन यादव ले सभामुख पक्षपातपूर्ण ढंगले प्रस्तुत भएको आरोप लगाउँदै कडा टिप्पणी गर्नुभएको हो।

उहाँले पूर्वमा सभामुख आवद्ध रहनुभएको पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको सम्बन्धप्रति संकेत गर्दै भन्नुभयो, “रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?” भन्दै प्रश्न गर्नुभएको थियो।

सांसद यादवज्यूले सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलहरूले निरन्तर आपत्ति जनाइरहेको भए पनि सभामुखज्यूले त्यसप्रति चासो नदिनुभएको आरोप समेत लगाउनुभयो।

उहाँका अनुसार सदनमा जनताको विश्वास कमजोर बनाउने गतिविधि भइरहेको छ र सभामुखज्यूले सबै सांसदहरूको अभिभावकको रूपमा भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको छ।

यादवज्यूको अभिव्यक्तिपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद माननीय गणेश कार्की ले नियमापत्ति जनाउनुभएको थियो।

त्यसपछि सभामुख अर्यालज्यूले यादवको अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै संसदीय नियमावलीको ख्याल गर्न निर्देशन दिनुभएको थियो।

यसैबीच, सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग राख्दै विपक्षी दलहरूले संसदमा निरन्तर विरोध जारी राखेका छन्।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार  १३ : १५  बजे