कीर्तिपुर घटनाले सरकारको कदममाथि गम्भीर प्रश्न उठाएको केसीको टिप्पणी

काठमाडौं, असार । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा सुकुम्बासीहरूले खाना नपाएको विषयप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद केसीले विभिन्न स्थानमा सुकुम्बासी परिवारहरू भोकभोकै बस्न बाध्य भएको र बालबालिकाको पठनपाठनसमेत प्रभावित भएको बताउनुभयो। उहाँले सरकारको कदम साहसिक हुन खोज्दा दुस्साहसमा परिणत भएको टिप्पणी गर्नुभयो।

“कीर्तिपुरको होल्डिङ सेन्टरमा केही दिनअघि भएको घटना अत्यन्त दुःखद छ। यी घटनाक्रमहरूले सरकारको साहसिक कदम दुस्साहसिक रूपमा परिणत भएको देखिएको छ,” उहाँले संसदमा भन्नुभयो।

सांसद केसीले बागमती नदीमा हाम फालेर इन्द्रबहादुर राईको मृत्यु भएको, १७ वर्षीय रविन तामाङले झुन्डिएर ज्यान गुमाएको, शान्तिनगरमा डोजर अभियानको त्रासका कारण रवि तामाङकी श्रीमतीको हृदयघातबाट मृत्यु भएको तथा कीर्तिपुरमा भोजराज दर्जीको निधन भएको घटनाहरूले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको बताउनुभयो।

उहाँले सुकुम्बासी बस्ती हटाउने अभियानका क्रममा प्रभावित समुदायमा त्रास र असुरक्षाको वातावरण सिर्जना भएको दाबी गर्दै मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले समेत चासो व्यक्त गरेको उल्लेख गर्नुभयो।

सांसद केसीले Amnesty International, मानवअधिकारसम्बन्धी विभिन्न संस्थाहरू तथा नेपालका अधिकारकर्मीहरूले समेत घटनाबारे गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै सरकारलाई यस विषयमा संवेदनशील र जिम्मेवार बन्न आग्रह गर्नुभयो।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार  १३ : ०५  बजे