रास्वपा कर्णाली प्रदेश सभापतिमा माननीय मदन खड्का पुनः निर्वाचित

काठमाडौं, ३ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेश सभापतिमा सुर्खेत निवासी मदन खड्का पुनः निर्वाचित हुनुभएको छ।

उहाँले २८८ मत प्राप्त गर्दै प्रदेश सभापति पदमा विजयी हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी स्नेहा उपाध्यायले ६३ मत र नन्दकिशोर बस्नेतले ३५ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ।

यसअघि पनि कर्णाली प्रदेश सभापतिको जिम्मेवारी सम्हालिसक्नुभएका खड्का पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र विवादबीच सम्पन्न निर्वाचनबाट पुनः नेतृत्वमा चयन हुनुभएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम अधिवेशन आइतबारदेखि सुरु भएको थियो। प्रारम्भमा नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास गरिए पनि सहमति जुट्न नसकेपछि मंगलबार मतदानमार्फत प्रक्रिया सम्पन्न गरिएको हो।

अधिवेशनमा कुल ५३० प्रतिनिधि सहभागी हुनुभएकोमा ४०० जनाले मतदानमा भाग लिनुभएको थियो।

यसैबीच, पराजित उम्मेदवार नन्दकिशोर बस्नेतले प्रतिनिधि छनोट प्रक्रियामा एकलौटी भएको आरोप लगाउँदै अधिवेशन स्थगित गर्न माग गर्दै रास्वपा केन्द्रीय कार्यालय तथा निर्वाचन समितिमा उजुरी दिनुभएको छ।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार  ०८ : ४४  बजे