रास्वपा सांसदहरूको आरोप: बजेट शक्ति केन्द्रको वरिपरि घुमेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो

काठमाडौँ, २ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सरकारले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले मुलुकका गम्भीर समस्या तथा पूर्वाधार विकासका क्षेत्रलाई प्राथमिकता दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद भरत पराजुलीले सरकारले वायु प्रदूषण र जीर्ण सडक पूर्वाधारप्रति पर्याप्त ध्यान दिन नसकेको बताउनुभयो । उहाँले नेपालमा वायु प्रदूषणका कारण वार्षिक करिब २६ हजार नागरिकको ज्यान जाने र जीडीपीको ठूलो हिस्सा आर्थिक क्षति हुने उल्लेख गर्नुभयो ।

उहाँले काठमाडौं र विराटनगरजस्ता सहरहरू विश्वकै प्रदूषित सूचीमा पर्ने गरेको उल्लेख गर्दै सरकारले दीर्घकालीन समाधानका लागि स्पष्ट योजना नल्याएको टिप्पणी गर्नुभयो । साथै, अरनिको राजमार्गलगायतका रणनीतिक सडकहरूको स्तरोन्नतिमा बजेट मौन रहेको उहाँको भनाइ थियो ।

सांसद पराजुलीले तातोपानी नाकाको भौतिक संरचना अझै २०७२ सालको भूकम्पपछिको अवस्थामा रहेको उल्लेख गर्दै सीमावर्ती पूर्वाधार सुधारमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

त्यस्तै, सांसद हरिप्रसाद भुसालले बजेट विनियोजन असन्तुलित रहेको भन्दै सुरक्षा संयन्त्रभित्र भ्रष्टाचार र अनियमितताको आरोप लगाउनुभयो । उहाँले नागढुंगा चेकपोस्टमा सवारी साधनबाट अवैध रकम असुली भइरहेको गम्भीर विषय उठाउनुभयो ।

उहाँले आफ्नो गृह जिल्ला अर्घाखाँचीका महत्वपूर्ण आयोजना बजेटमा समावेश नभएकोप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो । साथै, निर्माणाधीन अर्घा भगवती विमानस्थल र प्रमुख सडकहरू उपेक्षित भएको उहाँको भनाइ थियो ।

सांसदहरूले बजेट शक्ति केन्द्रको प्रभावमा परेर असन्तुलित रूपमा वितरण भएको आरोप लगाउँदै सरकारले न्यायोचित प्राथमिकतासहित पुनर्विचार गर्नुपर्ने बताउनुभएको छ ।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार  २१ : ०७  बजे